इटहरीः झापाको गौरीगञ्ज गाउँपालिका २ स्थित लालमाटीबाट प्रहरीले दुई जनालाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही स्थान घर भएका २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार मंगलबार साँझ ५ बजे प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तहरुले बोकेको झोला जाँच गर्दा अवैध लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, विन स्पास्मो ४८ नामक लागूऔषध २८ ट्याब्लेट र नाइट्राभेट –३० ट्याब्लेट बरामद भएको कार्यालयले उल्लेख गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत झापाको आदेशमा लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाउनका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।