इटहरीः सुनसरीको इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ ।
सिमित व्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइसोलेसन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीको शुभकामना मन्तव्यसँगै आइसोलेसन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाइंमा अक्सिजन सहितको आइसोलेसन एक साताअघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इहरीले आइसोलसन सञचालनमा साथ दिएका छन् । निजी क्षेत्रको पहलमा सञ्चालन भएको सुविधासम्पन्न आइसोलेसनले इटहरी नगरवासीलाइ ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताए ।
उनले निजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंसासमेत गरे । तीन तल्ले भवनमा सञ्चालित सुविधासम्पन्न आइसोलेसनमा प्राविधिक रुपमा डाक्टर र नर्स सहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरीसहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तिव्र भएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इहरीका अध्यक्ष मुकेश अग्रवालले बताए । स्थानीय तहले निर्माण गरेका कतिपय आशोलेसनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको बेला सञचालन भएको सुविधासम्पन्न यो आइसोलेसनमा संक्रमितलाई खाना र बस्न निःशुल्क रहेको छ । यसका साथै विभिन्न खेलकुदका सामग्री, विभिन्न पुस्तक, तिव्र गतिको इन्टरनेट र टेलिभजनको सुविधासमेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
आइसोलेसनमा निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल सँगको सहकार्यमा ७ सय ५० रुपैयाँमा पीसीआर जाँच गर्ने सुविधा पनि रहेको अधिकारीले बताए । इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । गत वर्ष एक सय शैया क्षमतामा सञ्चालित यो आइशोलेसन यस वर्ष ५० शैयामा सीमित गरिएको छ । यस्तो बेला निजी क्षेत्रबाट सञ्चालित आइसोलेसनले राहत दिने विश्वास गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए । महामारीमा सरकारी क्षेत्रको मात्र मुख ताक्ने प्रवृति रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट भएको यस्तो कार्यको अन्यत्र पनि अनुशरण गर्न प्रेरणा मिल्ने पौडेलको भनाइ छ । कोरोना भाइरस संक्रमणको पहिलो लहर फैलिँदा आइसोलेसन तथा क्वारेन्टिन बनाउन स्थानीय तहहरुमा लहड नै थियो । दोस्रो लहर तिव्र रुपमा फैलिँदा प्रदेश र स्थानीय सरकारको सक्रियता नदेखिएको भन्दै आलोचना भइरहेको छ ।