धरान: नेपाल फोटो पत्रकार महासंघ सुनसरीले एकद्वार प्रणालीबाट वितरण गर्न स्वास्थ्य सुरक्षाका सामग्री पत्रकार महासंघ सुनसरीलाई हस्तान्तरण गरेको छ ।

धरान १३ स्थित महासंंघको कार्यालयमा सिमित पदाधिकारीहरु उपस्थित भई विभिन्न तहबाट सहयोगस्वरुप संकलन भएको ३ हजार ५ सय थान मास्क र ३.५ लिटर सेनिटाइजर हस्तान्तरण गरेको हो । विभिन्न संघ सँस्था तथा व्यक्तिगत रुपमा सहयोग संकलन गरी सो स्वास्थ्य सामग्री जुटाएको फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले जानकारी दिए । सबै पत्रकारहरुको साझा संगठन भएको हिसाबले पनि र एकद्वार प्रणालीलाई अवलम्बन गर्दै उक्त स्वास्थ्य सामग्री पत्रकार महासंघलाई हस्तान्तरण गरेको अध्यक्ष चाम्लिङले बताए । गत वर्षको लकडाउनमा पनि फोटो पत्रकार महासंघ सुनसरीले पत्रिका वितरकहरुलाई खाद्यान्न राहत वितरण गरेको थियो ।

received_571506010479004

 

अन्य पत्रकारहरुलाई भन्दा फोटो पत्रकारहरुलाई उच्च जोखिम भएकोले पत्रकार महासंघ सुनसरीले त्यो कुरालाई ध्यानमा राख्दै सम्पूर्ण पत्रकारहरुको बारेमा पनि सोच्न फोटो पत्रकार महासंघ केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङले आग्रह गरेका छन् । जोखिमका बाबजुद फोटो पत्रकार महासंघ सुनसरीले सञ्चारकर्मीहरुलाई यतिको सहयोग जुटाउन सफल भएकोमा महासंघ सुनसरी अध्यक्ष जनकऋषि राइले टिमलाई धन्यवाद प्रकट गरेका थिए । अध्यक्ष राईले यो जोखिमपूर्ण परिस्थितिमा पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग जुटाउने समेत जानकारी दिए । हालसम्म सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने १५ जना पत्रकारहरुलाई कोभिड–१९ संक्रमण भएको छ । तीन जना स्वास्थ्य लाभ गरेर नियमित काममा फर्किसकेका छन् भने अन्य होम आइसोलेसन र अस्पतालमा रहेका छन् ।