इटहरी: सुनसरीको इटहरीस्थित नेकपा एमाले उपमहानगर कमिटिले उपमहानगरको ३ नम्बर वडास्थित कोरोना अतिप्रभावित सुनौलो टोलमा गरेको राहत वितरण विवादित बनेको छ ।
उपमहानगर कमिटिको पहलमा संकलन गरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलगायत अन्य जनप्रतिनिधिको रोहबरमा सो टोलका एक सय १२ विपन्न परिवारलाई वितरण गरिएको राहत सामग्रीको प्याकेटमा नेकपा एमालेको पर्चा भेटिएको भन्दै विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको हो । कांग्रेसका इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेलले पार्टीको पर्चासहितको राहत सामग्री वितरण गरेर नेकपा एमालेले मानवताविरोध हर्कत प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले उपमेयर लक्ष्मी गौतमले नगर सरकारको स्रोत साधन दुरुपयोग गरी दलको झन्डा बोकेर हिँडेको भन्दै आक्रोश प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् सभापति पौडेलले जनताले तिरेको करबाट राहत वितरण गर्न स्थानीय सरकारलाई सुझावसमेत दिएका छन् ।
राहत सामग्रीमा पर्चा भेटिएकोबारे उपमेयर लक्ष्मी गौतमसँग जिज्ञासा राख्दा उनले नेकपा एमाले उपमहानगर कमिटिले नै वितरण गर्नका लागि एक हप्ताअघि स्वास्थ्यलाभको शुभकामना सहितको राहत सामग्री प्याक गरेको तर संघीय सरकारले राहत वितरणमा रोक लगाएका कारण पार्टीले राहत वितरण गर्न नसकेको जानकारी दिइन् । स्थानीय सरकारको रोहबरमा भने स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै राहत वितरण गर्न सकिने अनुमति जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएपछि सोही राहत सामग्री उपमहानगरपालिकाका तर्फबाट आफूसहितको सहभागितामा नगर प्रहरीले वितरण गरेको उपमेयर गौतमले बताइन् । विपक्षी े राजनीतिक प्रचारवाजीको हत्कण्डाका रुपमा राहत सामग्री वितरण गरेको पार्टीको आरोपमाथि जवाफ दिँदै उनले राहत वितरणका क्रममा सबै दलसम्बद्ध जनप्रतिनिधि संलग्न रहेको बताउँदै अरु कुनै दलले शुभकामना सन्देशसहित राहत वितरण गरेमा सो राहत वितरणमा पनि आफूले सहजीकरण गर्ने उल्लेख गरिन् ।
राहत सामग्रीमा फेला परेको पर्चामा पार्टीको प्रचार नभई स्वास्थ्यलाभको कामना गरिएको बताउँदै उनले सो गर्नु अनुचित नभएको तर्क गरिन् । यद्यपि, केही घरमा भुलवश पर्चासहितको राहत वितरण गरिएपनि पर्चा भेटिएको जानकारी पाएपछि पर्चा निकालेर राहत सामग्री मात्र वितरण गरिएको उनको भनाइ छ । राहत सामग्री खरिदमा उपमहानगरको बजेट खर्च नभएको समेत उपमेयर गौतमले प्रष्ट पारिन् ।
नेकपा एमाले इटहरी उपमहानगर कमिटि अध्यक्ष यामकुमार सुब्बाले स्थानीय एक सर्वसाधारणले आफूलाई राहतका लागि पहल गरिदिन अनुरोध गरेपछि एक हप्ताअघि पार्टीकै खर्चमा राहत सामग्री तयार पारिएको र सो क्रममा हार्दिकता प्रदर्शनका लागि शुभकामना सन्देश राखिएको बताए । राहत वितरणमा सहजीकरणका लागि वडाध्यक्षलाई आग्रह गर्दा इन्कार गरेको बताउँदै उनले जिल्ला प्रशासन कार्यालयको अनुमतिपछि स्थानीय तहको समन्वयमा राहत वितरण गरिएको उल्लेख गरे । शुभकामना सन्देश मानवीय समवेदना प्रकट गर्न राखिएको बताउँदै उनले यसलाई राजनीतिक प्रचारवाजीका रुपमा नलिन आग्रह गरे । राजनीतिक प्रचार चुनावका बेला गरिने भन्दै अध्यक्ष सुब्बाले सहयोग मानवीय आधारमा गरिएको तर्क गरे ।