इटहरीः सुनसरीको धरान उपमहानगरपालिका २ स्थित रत्नरोडबाट प्रहरीले एम्बुलेन्समा राखी तस्करी गर्न लागिएको एक सय किलो प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा को १ च ५५५९ नम्बरको एम्बुलेन्सका चालक धरान उपमहानगरपालिका– १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा घर धरान उपमहानगरपालिका – ११ बस्ने २८ वर्षीय पोशन राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । नियमित सवारी चेकजाँचका क्रममा एम्बुलेन्स जाँच गर्दा चार ओटा झोलामा प्याक गरिएको अवस्थामा एक सय किलो गाँजा बरामद भएपछि अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले अभियुक्तद्वयलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

धनकुटाको भेडेटारबाट धरानतर्फ आइरहेको एम्बुलेन्समा गाँजा फेला परेको हो । पक्राउ परेका अभियुक्तहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत सुनसरीको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।