इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयका पूर्वप्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट निधन भएको छ ।

कोरोना संक्रमित भई दुई साताअघि उपचारार्थ काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना भएका डीएसपी खरेलको भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा उपचारका क्रममा आज अपराहन्न निधन भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । २०५१ सालमा प्रहरी सहायक निरीक्षकका रुपमा प्रहरी सेवा सुरु गरेका डीएसपी खरेल २०५८ सालमा प्रहरी निरीक्षकमा बढुवा भएका थिए ।

हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत डीएसपी खरेल बढुवाको रोलक्रममा रहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ । डीएसपी खरेलले इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखका रुपमा २०७५ साल फागुन २९ गतेदेखि २०७६ भदौ २२ गतेसम्म पाँच महिना काम गरेका थिए ।