इटहरीः मोरङको विराटनगर महानगरपालिका १६, दरैयास्थित नेपाल भारत सीमावर्ति क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान घर भएका ४३ वर्षीय सजजु शाही रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार आइतबार राति ९ बजे दरैया पोष्टबाट खटिएको गस्ति टोलीद्वारा पक्राउ गरिएका अभियुक्त शाहीका साथबाट प्रहरीले अवैध लागूऔषध डाइलेक्स डीई दुई बोतल, नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोक्सिवोन प्लस आठ ट्याब्लेट बरामद गरेको थियो ।

पक्राउ परेका अभियुक्त शाहीलाई जिल्ला अदालत मोरङको आदेश अनुसार लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।