इटहरीः दुग्ध क्षेत्रमा नेपालमा नै अग्रणी स्थानमा रहेको सुनसरीको इटहरी २० स्थित कामधेनु दुग्ध विकास शहकारी संस्था लि. ले इटहरीको आइसोलेसनलाई तीन महिनाका लागि दुध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।

इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्री कृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी र नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दुध तथा दुग्धजन्य पदार्थ निःशुल्क दिने भएको हो । सोमबार संँस्थाका निमित्त प्रबन्ध निर्देशक पर्शुराम कार्की (मनोज) सहितको टोलिले कोभिड व्यवस्थापन समितिका सदस्य एवं प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी सहितका पदाधिकारीसँग प्रतिबद्धतापत्रसहित सम्झौता गरेका थिए । कामधेनुका निमित्त प्रबन्ध निर्देशक कार्कीले सामाजिक उत्तरदायित्वअन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफूहरु अत्यन्तै खुसी रहेको जनाएका छन् ।

20210524_115729

यसैगरी, इटहरीमा रहेको तमोर डेरी उद्योगले पनि आइसोलेसनलाई पहिलो एक महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । आइसोलेसन सञ्चालन तथा मूल व्यवस्थापन समिति संयोजक भीम पौडेलसँग उक्त डेरी उद्योगका अध्यक्ष प्रदीप अधिकारिले सम्झौता गरी प्रतिबद्धता जनाएका थिए । ४० बेड अक्सिजनसहित पहिलो चरणमा जम्मा ८० बेडमा सन्चालन हुने तयारीमा रहेको आइसोलेसन निर्माणका सम्पूर्ण तयारी सकिएको र सुरक्षा प्रबन्धसमेत मिलाइसकिएको मुल समिति संयोजक पौडेलले बताए । निःशुल्क बस्ने, खानेदेखि लिएर आइसोलेसनमा खेलकुदका सामग्रीहरु, निःशुल्क इन्टरनेट सेवासहित योगा गर्ने सम्मको प्रबन्ध मिलाउन लागेको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष एवं मुल व्यवस्थापन समितिका सदस्य मुकेश अग्रवालल बताए ।