काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने स्पष्ट गरेका छन् ।

विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रूपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दाबी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए । प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दाबी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुबै पक्षको दाबी अस्वीकार गरेको उनको धारणा छ ।

नेकपा (एमाले) का अध्यक्ष ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने पनि बताए । उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए । एक प्रश्नका जवाफमा उनले पार्टीमा रहेर सरकारविरूद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पारे । -रासस