धरान: केही समययता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको लापरबाही र गैरजिम्मेवारीपूर्ण कार्यहरुको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि धरानमा राजनीतिक दलहरु एकताबद्ध रूपमा खबरदारी गर्न निस्किएका छन् ।
अक्सिजन अभाव रहेकाले यथसिघ्र अक्सिजन प्लान्ट मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा लापरबाही नगर्न माग गर्दै धरानका राजनीतिक दलहरुले प्रतिष्ठानलाई दबाब दिएका छन् । नेकपा एमाले (माधव नेपाल पक्ष), नेकपा माओवादी पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुक्ति पार्टी लगायतले आज प्रतिष्ठानको उपकुलपतिलाई उनकै कार्यकक्षअघि धर्ना दिँदै दबाब दिएका थिए । कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पताललाई गुणस्तरीय नबनाएको र पदाधिकारीहरु गैरजिम्मेवार भएकोले ध्यानाकर्षण गराउन सर्वदलीय टोली शान्तिपूर्णरुपमा आएको धर्नामा सहभागीहरुले बताएका थिए । नेकपा एमाले नगर अध्यक्ष नारायण सुवेदीले बिरामीहरुले भेन्टिलेटर तथा अक्सिजन अभावमा ज्यान गुमाइरहेको तर पदाधिकारीहरु भने कमिसनखोरी र भ्रष्टचार गर्नमै व्यस्त भएको आरोप लगाए ।
उनले यस्तो हुँदा पनि उपकुलपति मुक दर्शक बनेर जनताको जीवनमाथि नै खेलवाड गरेको भन्दै आक्रोशसमेत पोखेका थिए । साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेको प्रति आपत्ति व्यक्त गर्दै यो समयमा जनतालाई चुनाव नभई राहत र उपचार चाहिएको धारणा राखे । अक्सिजन अभावका कारण केही समययता बिरामी भर्नामा रोक लगाएको भन्दै टिकाटिप्पणीसमेत भएको थियो । प्रदेश नम्बर १ कै धरोहरको रुपमा चिनिएको बीपी प्रतिष्ठान विभिन्न राजनीतिक दलहरुको अखडाको रुपमा परिणत भएको छ । कोरोना महामारीको दोस्रो लहरसँगै जनमानसमा प्रतिष्ठानप्रति आशा पलाउनुको सट्टा झन विश्वास हटेर गएको छ । यो विषयमा स्थानीय सरकार र प्रदेश सरकारसमेत मौन भएर बसेको अवस्था छ ।