धरान: हाल कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमै पनि महामारीको रूपमा यसले मानवीय क्षति गराइरहेको छ ।
सुनसरीको धरानमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो अवस्थामा छ । महामारीले देश नै आक्रान्त भएको समयमा यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यलयले जेष्ठ १५ गतेसम्म लकडाउन गरेको छ । सोही बेला विपन्न र दैनिक ज्यालादारी काम गरी जीविकोपार्जन गर्ने परिवार अहिले पुर्ण लकडाउन हुँदा हाथमुख जोड्न धौ धौ भइरहेको अवस्थामा छ । यो विषम परिस्थितिमा धरान १७ का अतिविपन्न, गरिब, ज्यालादारी काम गरी खाने मजदुरहरुलाई धरान–१७ रेल्वे युथ क्लबले खाद्यान्न, औषधि र निःशुल्क ऐम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
निःस्वार्थ सेवाको उद्देश्यका साथ “रेल्वे युथ क्लब“ ले “कोभिड–१९ राहत सहयोग कोष” स्थापना गरी ४३ हजार आठ सय ६० रुपैयाँ जम्मा गरेको अभियानका संयोजक युवानेता नरसिंह राईले जानकारी दिए । उनले धरान १७ निवासी कोही आर्थिक रूपमा अतिविपन्न परिवार भए सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । अभियानअन्तर्गत आवश्यक परेकाहरुलाई खाद्यान्न सामग्री, निःशुल्क एम्बुलेन्स सेवा, औषधि सेवासहित कोभिड संक्रमण भएकाहरुलाई आर्थिक सहयोगसमेत गर्ने संयोजक राइले बताएका छन् । सरकार त्यस्ता विपन्नहरुप्रति संवेदनशील हुनुभन्दा पनि सत्ता जोगाउन व्यस्त भएको साथै खोप र राहतको प्याकेज ल्याउने बेला अरबाँै खर्च गरेर मध्यावधि निर्वाचन गर्न राष्ट्रपतिले मिति नै तोकेको भन्दै युवाहरूले आपत्तिसमेत जनाएका थिए ।