इटहरी: कोभिड रोकथाम नियन्त्रण र संक्रमितको उपचारका लागि इटहरीका राजनीतिक नगरपालिका, प्रदेश र संघिय सांसद साथमा साथ मिलाएर हिड्न तयार भएका छन् ।

कोभिड रोकथाम र नियन्त्रणमा इटहरी उपमहानगरपालिका एक्लै लागेको र समन्वय नगरेको गुनसो आएपछि संवाद समुह सुनसरीले आयोजना गरेको संवाद कार्यक्रममा राजनीतिक दल, नगरपालिका, संघिय र प्रदेश सभा सदस्यहरु विचमा समन्वय गरेर काम गर्ने सहमतिमा पुगेका छन् । यसका लागि सवैको सहभागितामा योजना बनाउने र नगरपालिकाको नेतृत्वमा काम गर्ने समेत सहमति भएको छ । इटहरी उप महानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले एक दुई दिन भित्रमै दलहरुको सुझाबको आधारमा बैठक डाक्ने र सँगै मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । संवादमा सहभागि नेपाली कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले नगरपालिकाले अहिले सम्म समन्वय नगरेको र आफूहरुलाई नसोधेकामा बताए । 

उनले भने “अहिले सम्म तपाँईहरु एक्लैले काम गर्नु भयो अव सँगै काम गरौ । हामी नगरपालिकाको नेतृत्वमा इटहरीवासी बचाउन जस्तोसुकै योगदान गर्न तयार छाँै । दल र जनप्रतिनीधिका विचमा समन्वयको अभाव छ हूँदा आईसोलेसन निर्माण, पीसीआर परिक्षणमा समस्या देखिएको छ । एक्लैले गरेर यो माहामारीसँग जुध्न सकिन्न सभापति पौडेलले भने कहाँ कहाँ काम गर्नु पर्ने हो हामी मिलेर काम गरौँ ।” उनले भने, “आजबाट म आशावादी छु छिट्टै नगरपालिकाले समन्वयको नेतृत्व गरोस ।” संवादमा बोल्दै प्रतिनीधिसभाका सदस्य सीताराम मेहताले आफू इटहरीमा रहेको इटहरी अस्पतालको स्तरोन्नतिका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले यसअघि पनि इटहरी अस्पतालका लागि एक करोड रुपैयाँ बजेट हाल्ने भनेको तर नगरपालिकाले नखोजेको बताए । प्रदेशसभा सदस्य लिलम बस्नेतले आफूलाई भनेको काम अहिले सम्म पूरा गरेको तर नगरपालिकाले समन्वय नगरेको बताए । अब पनि योजना बनाएर संयुक्त काम नगर समस्या झन् झन् थपिएर जाने उनले बताए । नेकपा एमाले इटहरीका अध्यक्ष याम सुब्बाले नगरपालिको तत्काल दलहरुको सर्वपक्षीय बैठक राख्नुपर्ने बताए ।

 संवादमा उनले भने, “इटहरीमा सञ्चालनमा रहेका आइसोलेसनमा समस्या छ यसलाई व्यवस्थित गराँै । यसका लागि दलहरुले के के गर्नुपर्ने हो नगरपालिकाले भनोस्, हामी गर्न तयार छौँ । ” नेकपा एमाले माधब नेपाल पक्षका नेता काशीनाथ दंगालले अहिलेसम्म उपमहानगर आफैँले सवैथोक गर्न सक्छु भनी हिँडेको बताउँदै त्यसरी गन्तव्यमा नपुगिने तर्क गरे । विकास बजेट काटेर भएपनि कोभिड रोकथाम र संक्रमितको उपचारमा सबै लाग्नु पर्ने उनले सुझाव दिए । नेपाली कांग्रेस इटहरीका उपसभापति कोविदजंग कार्कीले मेयरले चाँडै नै सहमति अनुसार काम थालेको हेर्न चाहेको बताए । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले चाँडै नै सबै राजनीतिक दल प्रदेश र प्रतिनीधिसभा सदस्यको सुझावका आधारमा कार्ययोजना बनाइने बताए । इटहरीमा कोभिड रोकथाम र उपचारमा समस्या भएको भन्दै सबै दलहरुलाई सहयोग गर्न उनले आव्हानसमेत गरे ।

राहत वितरणमा ध्यान दिन आग्रह
लामो समयको लकडाउनका कारण विपन्न समुदायको रोगसँगै भोकको चपेटामा परेको भन्दै राहत वितरणको योजना बनाउन दलहरुले सुझाव दिएका छन् । संवादमा दैनिक कमाइखाने वर्ग भोकभोकै भएको तर स्थानीय सरकारले ध्यान नदिएको कारण दलका नेताहरुले बताएका छन् । जनता समाजवादी पार्टीका नेता पदम अधिकारीले तत्काल गरिबका लागि खाद्यान्नको व्यबस्था मिलाउन माग गरे । कांग्रेस नगर सभापति पौडेलले कांगेसले गतवर्ष पनि राहत वितरण गरेको र यसपालि पनि पालिकालाई सहयोग गर्न तयार रहेको बताए । विपन्नका लागि राहतको प्याकेज घोषणा गर्ने र नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण थाल्नुपर्ने सभापति पौडेलको सुझाव छ । मेयर चौधरीले भने संघीय सरकारले राहत वितरणमा रोक लगाएकोले राहतको प्याकेज नल्याएको बताए ।