सप्तरीः नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आइतबार साँझ सप्तरीमा मैनबत्ति प्रज्ज्वलन गरिएको छ ।
संसद्मा नागरिकता विधेयकका रूपमा पेस भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुसियालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ । गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरूले मैनबत्ति प्रज्जवलन गरेका छन् । कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएकोे खुसियाली मनाइएको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए ।
यसैगरी राष्ट्रिय एकता अभियानले पनि मैनबत्ति प्रज्वलन गरी खुसियाली मनाएको छ । नागरिकतासम्बन्धी अध्यादेशले जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बताए । संविधानले नै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा रकता दिने व्यवस्था गरेबमोजिम संविधानले प्रत्याभूत गरेका अधिकारबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर अध्यादेश ल्याउनु उपयुक्त भएको नेकपा (एमाले) का नेता अशोक यादवले बताए । -रासस