इटहरीः मोरङको विराटनगर महानगरपालिका १ स्थित पुष्पलाल चौकमा निषेधाज्ञा कार्यान्वयनका लागि परिचालित प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् ।
आक्रमणबाट प्रहरी टोलीका कमान्डर प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईसहित चार जना प्रहरी सामान्य घाइते भएका छन् । स्थानीयको आक्रमणबाट डीएसपी राईका अङ्गरक्षक प्रहरी जवान रामबहादुर तामाङको पोसाकसमेत च्यातिएको छ । निषेधाज्ञा अवधिमा पसल खुला राखेको पाइएपछि प्रहरीले बन्द गर्न आग्रह गरेको र केही बेरपछि पुनः अनुगमन गर्दा पसल खुला देखिएपछि बन्द गराउन गएको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।
उनका अनुसार आक्रमणकारीले प्रहरी टोलीमाथि बाँस र भाटा प्रहार गर्दा प्रहरीको पाखुरालगायत शरीरका अन्य भागमा सामान्य चोट लागेको छ । कोरोना नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएकोमा बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म तरकारी, फलफूल, दुधजस्ता दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका लागि खुला गरिने गरिएकोमा सो समयपछि पनि बजार खुला गरेको पाइएपछि प्रहरीले बन्द गराउने प्रयास गरेको एसपी खड्काले बताए ।
उनका अनुसार आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह रहेको उनको भनाइ छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।