इटहरीः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागिपरेको बताएका छन् ।

यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री राईले संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । आइतबार विराटनगरमा करुणा फाउन्डेसन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए ।

उनले सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । यो संकटका बेला सरकारलाई सबैको साथ चाँहिने भन्दै सामाजिक संघसंस्थाहरुले आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए । उनले करुणा फाउण्डेसनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । करुणा फाउण्डेसनले संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोसी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।