इटहरीः गम्भीर प्रकृतिका बिरामीका लागि अक्सिजनको व्यवस्था आफैँले गरेर मात्र भर्ना गर्न सूचना जारी गरेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोही सूचनालाई आधार मानी सञ्चारमाध्यमले प्रकाशन गरेको समाचारको खण्डन गरेको छ ।
प्रतिष्ठानले हिजो जारी गरेको सूचनामा ‘....प्लान्टको दक्ष इञिजनियरहरुले मर्मत गर्ने कार्य गरिरहेकाले प्लान्ट पूर्ण क्षमतामा पूर्ण क्षमतामा सञ्चालनमा नआएसम्म (वा अक्सिजनको पर्याप्त मात्रामा वैकल्पिक व्यवस्था गर्न नसकिएसम्म) हाल कोभिड १९ अस्पतालमा भर्ना गरिएका बिरामीको उपचारमा अक्सिजनको कमी नहोस् भनी नयाँ बिरामी भर्ना गर्ने हकमा आप्mनो अक्सिजन सिलिन्डरको उपलब्धताका आधारमा भर्ना लिई उपचार गरिने....’ उल्लेख छ । शब्दको अनर्थ व्याख्या गरी आम जनमानसमा गलत एवं भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको आरोप मिडियामाथि लगाउँदै प्रतिष्ठानले सोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
प्रतिष्ठानले दाबी गरेजस्तो अक्सिजनको उपलब्धताका आधारमा भर्ना लिइने कुरा पनि तर्कसंगत देखिँदैन । किनभने अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने काम सम्बन्धित अस्पतालले गर्नुपर्ने भनी सरकारले यसअघि नै प्रष्ट पारिसकेको छ । अक्सिजन उपलब्ध भएसम्म भर्ना लिने, त्यसउप्रान्त नलिने भन्ने प्रतिष्ठानको आशयलाई सही मान्ने हो भने पनि प्रतिष्ठानको सूचना सरकारी निर्देशन प्रतिकूल नै देखिन्छ । प्रतिष्ठानले अक्सिजनको उपलब्धताका आधारमा भर्ना लिने उल्लेख गरेको छ ।
यद्यपि, प्रतिष्ठानले नयाँ बिरामी भर्ना गरेको अभिलेख भने देखाउन सकेको छैन । प्रतिष्ठानको सूचना बाहिरिएलगत्तै सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाहलाई टेलिफोन गरी प्रष्टिकरण लिएपछि प्रतिष्ठानले आफ्नो गल्ति ढाकछोप गर्न मिडियामाथि गलत समाचार सम्प्रेषणको आक्षेप लगाएको हो । प्रतिष्ठानमा बिग्रिएको अक्सिजन प्लान्ट भने हालसम्म मर्मत गर्न प्रतिष्ठान प्रशासनले सकेको छैन ।