इटहरीः मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवास्थित नेपाल भारत सीमावर्ति क्षेत्रबाट प्रहरीले एक महिलालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका १ घर भएकी ४१ वर्षीया रेखा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार अभियुक्त न्यौपानेका साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध डाइलेक्स डीसी ५० बोतल, नाइट्राभेट एक सय ट्याब्लेट, स्पास्मो प्रोक्सिवोन प्लस चार सय ३२ चक्की बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको गस्ति टोलीले महिलाको झोला चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएको उनको भनाइ छ ।
पक्राउ परेकी न्यौपानेलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत मोरङको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।