इटहरीः गत जेठ ७ गते मध्यराति प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले मध्यावधि चुनाव घोषणा गरेपछि अहिले यसको सर्वत्र विराध भइरहेको छ ।

कोरोना महामारीले आक्रान्त पारेको नेपालमा जनताहरु सुलभ रुपमा उपचार र अक्सिजन नपाएकै कारण मृत्युवरण गरिरहेका छन् । जनतालाई कोरोनाले हायलकायल बनाउँदा उच्च पदस्थ नेताहरु भने कुर्सीको हानाथापमै व्यस्त देखिन्छन् । यसको पछिल्लो उदाहरण हो, संसद विघटन गरी आगामी कार्तिक २६ र मंसिर ३ को मध्यावधि चुनावको घोषणा । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपा एमालेका नेताहरुले यसको स्वागत गरिरहेका भएपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य दलले यसको विरोध गरेका छन् । राष्ट्रपतिको यो कदमको राजनैतिकस्तरमा मात्र नभएर जनस्तरबाट पनि विरोध भइरहेको छ । सुनसरीको इटहरीवासी पनि यो निणर्यको विरुद्धमा देखिएका छन् ।

इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएका श्याम पोखरेलले सरकारको यो कदम र प्रतिपक्षीले अहिले निर्वाह गरिरहेको भूमिकाले नेपालको राजनीति फोहोरी खेल भएको प्रष्ट्याएको बताएका छन् । ‘कोभिड १९ ले यस्तो अवस्था सिर्जन गरिरहेको छ । नेपाली जनता भोकभोकै मरिरहेका छन् । न अक्सिजनको व्यवस्था छ, न आइसोलेसनको व्यवस्था छ । यो अवस्थामा नेता भने कुर्सीको हानाथापमा लागेका छन्’, उनले भने । साथै उनले जनताको लागि नभएर उनीहरुले आफ्नो कुर्सी बचाउने दाउपेचमा राजनीति गर्दै आएको आरोपसमेत लगाएका छन् । अहिले जनताको चाहना भोट हाल्ने वा निर्वाचनमा जानेभन्दा खोप कसरी पाउनेमा केन्द्रित भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई अनुरोध गरेका छन् । अर्का एक सवारी चालकले दिनदिनै बढ्दै गएको निषेधाज्ञा र खोपको अभावले आफूहरुलाई पिरोल्दै गएको बताए ।

‘सरकारले अब खोप दिनुपर्ने हो । अहिलेसम्म दिन सकेको छैन । बाहिरबाट त ल्याउनुहुन्छ तर हामीलाई दिनुहुन्न’, उनले गुनासो गरे । यो अवस्थामा आफूहरु निर्वाचनको पक्षधर हुन कुनै हालतमा नसक्ने उनको जिकिर छ । अर्का स्थानीय भोला बस्नेतले नेतृत्वमा रहेकाहरु कुर्सीको हानाथापको छिनलाग्दो खेलमा रुमलिएको आरोप लगाएका छन् । ‘सत्तामा भएकाहरु कसरी टिकिरहने भनेर लागिरहेका छन् भने प्रतिपक्षीहरु यीनीहरुलाई सत्ताबाट कसरी झारेर आफू कसरी सत्तामा जाने भन्ने खेलमा नै रुमल्लिरहेका छन् । यो जनताप्रतिको गैरजिम्मेवारीपनको पराकाष्ठा हो भन्ने मेरो बुझाइ रहेको छ’, उनले भने । सत्तामा रहेकाहरुको ध्यान यो समयमा जनतालाई कसरी बचाउनेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ । साथै उनले मध्यावधि चुनावभन्दा नेपालमा महामारी नियन्त्रण पहिलो आवश्यकता भएकाले त्यसतर्फ सरकार लागिपर्नुपर्ने बताए ।