इटहरीः पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको कोरोना संक्रमणका कारण निधन भएको छ ।

मोरङको विराटनगर महानगरपालिका २ बस्ने ९१ वर्षीय घिमिरे हिजो साँझ गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि भएकोमा उनको गएराति करिब ९ः०० बजे निधन भएको हो । केही दिनअघि नै स्वासप्रस्वासमा समस्या देखिएका घिमिरेको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारार्थ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको विराटनगरका नागरिक अगुवा रामबाबु दाहालले जानकारी दिए । घिमिरेले २०१७ सालसम्म कम्युनिस्ट राजनीति गरेकोमा २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कू गरी बहुदलीय व्यवस्था हटाई निर्दलीय व्यवस्था लागू गरेपछि घिमिरे पार्टी परित्याग गरी पञ्चायत प्रवेश गरेका थिए ।

पञ्चायत प्रवेश गरेपछि तत्कालीन राजा वीरेन्द्रको शासनकालमा घिमिरे सूचना तथा सञ्चार राज्यमन्त्री नियुक्त भएका थिए । त्यसको अढाई वर्षभित्र उनले नौ ओटा मन्त्रालयको राज्यमन्त्री बन्ने मौका पाए । घिमिरे विराटनगरमा २०१५ सालमा स्थापित एलिट क्लबका संस्थापकसमेत थिए । पछिल्लो समय उनको कुनै पनि राजनीतिक दलमा आबद्धता थिएन । घिमिरेका तीन छोरा र श्रीमति रहेकोमा कान्छा छोराको निधन भइसकेको छ ।