इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्दा अक्सिजनको व्यवस्था आफैँले मिलाउन सूचना जारी गरेको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलद्वारा जारी सूचनामा प्रतिष्ठानभित्र सञ्चालित अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनको प्रयोगबाट गम्भीर बिरामीहरुको उपचार गरिँदै आएकोमा हाल प्लान्ट बिग्रिएको र मर्मत कार्य जारी रहेकाले आवश्यक मात्रामा अक्सिजन उत्पादन गर्न नसकिएको जनाइएको छ । प्लान्टको मर्मत सम्पन्न नभएसम्म वा अक्सिजन आपूर्तिको वैकल्पिक व्यवस्था नभएसम्म अक्सिजन सिलिन्डरको उपलब्धताका आधारमा मात्र बिरामी भर्ना लिन सकिने प्रतिष्ठानले जनाएको छ ।
केही दिनअघि सरकारले अक्सिजनको व्यवस्था गर्ने काम अस्पतालको भएको भन्दै बिरामीलाई अक्सिजनको जोहो गर्न लगाउने अस्पताललाई कारबाही गरिने बताएको थियो । सरकारी निर्देशनको अवज्ञा गर्दै सरकारी अस्पतालले नै अक्सिजन व्यवस्थापनको भार बिरामीका आफन्तमाथि थोपरेको छ ।