इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले ९ नम्बर वडामा रहेको रङ्गशालामा सञ्चालन गरेको आइसोलेसन सेन्टरका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

आइसोलेसन श्रोतका अनुसार तीन स्वास्थ्यकर्मीसहित ४ जना संक्रमित भएका हुन् । संक्रमित हुनेमा आइसोलेसन इन्चार्ज शिवकुमार झा, स्टाफ नर्सहरु ऐजुक चौधरी र शैलेन्द्र भगत र एक जना सफाइ कर्मचारी रहेका छन् । संक्रमितमध्ये झा होम आइसोलेसनमा रहेका छन् । यस्तै अन्य संक्रमित रंगशाला आइसोलेसनमा रहेका छन् । संक्रमित चारै जनाको अवस्था सामान्य रहेको आइसोलेसन श्रोतले जानकारी दिएको छ ।

यो आइसोलेसनमा अहिलेसम्म ४० जना संक्रमित भर्ना भएका छन् । जसमा १६ जना महिला छन् भने २४ जना पुरुष रहेका छन् । भर्ना भएकामध्ये नौ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् भने ९ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ । हाल २२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । यहाँका सक्रिय संक्रमितमध्ये नौ जना महिला र १३ जना पुरुष रहेका छन् ।