इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा आज दुई जना कोरोना संक्रमितको ज्यान गएको छ ।

मृत्यु हुनेमा इटहरी ४ की ४३ वर्षीया महिला र इटहरी ८ की ७२ वर्षीया महिला रहेको इटहरी अस्पतालका प्रमुख रामकुमार धमलाले बताए । उनका अनुसार इटहरी ४ की महिलामा जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि आफ्नै घरमा होम आइसोलेसनमा रहेकी उनको आज अपराहन्न १२ः३० बजे ज्यान गएको हो । यसैगरी, जेठ २ गते कोरोना संक्रमित देखिएकी इटहरी ८ की महिलाको पनि होम आइसोलेसनमै ज्यान गएको छ । यसैबीच, इटहरी ४ का ७० वर्षीय पुरुषको आज बिहान ११ः३० बजे ज्यान गएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोमा उनको परीक्षण गर्नुअगावै ज्यान गएको वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषको परिवारमा पहिले नै दुई जना कोरोना संक्रमित सदस्य होम आइसोलेसनमा रहेका छन् । यता, वडामा कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र भई मानवीय क्षतिसमेत हुन थालेपछि सम्भावित संक्रमितको कन्ट्याक्ट ट्रेसिङलाई तिव्रता दिइने भएको छ । भोलिदेखि वडाका विभिन्न संक्रमण प्रभावित क्षेत्रहरुमा शंकास्पद संक्रमितको स्वाब संकलन गरी एन्टिजेन परीक्षण गरिने वडाध्यक्ष भट्टराईले बताए । उनका अनुसार वडा क्षेत्रमा व्यापक परीक्षणपछि प्राप्त नतिजाका आधारमा जोखिम बढी देखिएमा वडा सील गर्न उपमहानगरपालिकालाई आग्रह गरिने छ ।

वडा सील गर्ने अधिकार वडा कार्यालयलाई नभएको बताउँदै वडाध्यक्ष भट्टरार्ईले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी उपमहानगरपालिकाले वडा सील गर्ने निर्णय लिन सक्ने प्रष्ट पारे । आज पुष्टि भएका दुईसहित इटहरी क्षेत्रमा हालसम्म १९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको सरकारी तथ्याङ्क छ ।