काठमाडौँः उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शैयाको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए । ‘हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं । जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने– ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’ विभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उनले बताए ।

कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गरेकोे उपप्रधानमन्त्री पोखरेलले बताए । ‘अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह पनि गर्नुभयो । अहिले जति पनि भ्रमपूर्ण कुराहरु फैलिएका छन्, त्यसमा कुनै सत्यता छैन’– उनले भने । तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकता अनुसार २ सय बेडसम्म सञ्चालन गर्न सकिने यस आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइसोलन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । आइसोलेसन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायतको उपस्थिति थियो ।