इटहरीः मोरङको विराटनगर महानगरपालिका ३ स्थित विराटनगर अस्पताल अगाडिबाट प्रहरीले औषधिको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार अभियुक्त महतोलाई उनले नै सञ्चालन गरेको पश्चिमवासी फार्मेसीबाट हिजो साँझ ५ बजे पक्राउ गरेको हो । अभियुक्त महतोले फार्मेसीमा औषधि बिक्री गर्दा दुई वटा खाता बनाई एउटा खातामा औषधिको वास्तविक मूल्य लेख्ने र अर्को खातामा बढी मूल्य लेख्ने र ग्राहकलाई त्यही बढी मूल्यको खाता देखाई सोही बमोजिम रकम असुल्ने गरेको डीएसपी राईको भनाइ छ ।
कालोबजारी गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएका अभियुक्त महतोमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम मुद्दा चलाउन जिल्ला अदालतको आदेश अनुसार हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।