इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ३ स्थित लोचनीमा एक पुरुषको सुतेकै ठाउँमा घाँटी रेटी हत्या भएको छ ।

४० वर्षीय विष्णु ऋषिदेव आफ्नै घरमा सुतिरहेको अवस्थामा ओछ्यानमै उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको आफ्नो घरमा एक्लै बस्ने र ज्याला मजदुरी गरी जीविका चलाउने ऋषिदेवको शव उनका साथीहरुले देखेपछि बिहान ७ बजे प्रहरीलाई खबर गरेका थिए । सँधै बिहान काममा सँगै जाने साथी आज नआएपछि उनलाई बोलाउन गएका साथीहरुले ऋषिदेवलाई मृत अवस्थामा पाएका थिए ।

shh2

 

मृतक ऋषिदेवकी श्रीमतिको मृत्यु भइसकेको र छोराछोरी पनि अन्यत्रै बस्ने गरेको उनका साथीहरुले बताएका छन् । घटनामा संलग्न अभियुक्तहरुको हालसम्म पहिचान हुन नसकेको बताउँदै प्रहरीले अभियुक्तहरुको खोजी जारी रहेको जानकारी दिएको छ । ऋषिदेव सुतिरहेका बेला धारिलो हतियारले घाँटीको अगाडिपट्टि रेटेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।