इटहरीः हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
आज दिउँसो मोरङको विराटनगर महानगरपालिका–११ रोडसेष चोकबाट २१ लाखभन्दा बढी रकमसहित पक्राउ परेका विराटनगर–१३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका–१ की २५ वर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोबारबाट प्राप्त रकम रहेको खुल्न आएसंँगै उक्त कार्यमा संलग्न विराटनगर –१३ का ३३ वर्षीय अमृतकुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
साह र चौधरीको साथबाट प्रहरीले २१ लाख ७१ हजार पाँच सय नेपाली रुपैयाँ र २३ हजार भारतीय रुपैयाँ तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । यसैगरी अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोबाइल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठूलो राशीको नगदसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।