इटहरीः नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले आज एकैदिन दुई ओटा अप्रत्यासित परिणाम व्यहोरेका छन् ।

बाग्मति प्रदेशको राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा पराजय व्यहोरेका नेता थापा गृहमन्त्री पदबाट समेत पदच्युत भएका छन् । राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका डा.खिमलाल देवकोटासँग नेता थापा पराजित भएका हुन् । कलम चिन्हका साथ उम्मेदवारी दिएका डा.देवकोटाले पाँच हजार ०८८ मतभारसहित विजय प्राप्त गर्दा नेकपा एमालेका तर्फबाट सूर्य चिन्हसहित उम्मेदवारी दिएका थापा चार हजार १४ मतभारसहित पराजित भए । दुवै उम्मेदवारबीच एक हजार ७४ मतभारको अन्तर रह्यो ।

आज भएको उनिर्वाचनमा ३४८ जनाले मत हालेका थिए । जसमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरे । जसमा २५ जना कोरोना संक्रमित मतदाताले मतदान गरेका थिए । बाग्मतिमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो । त्यस्तै, तीन प्रदेशसभा सदस्य रहेको विवेकशील साझा पार्टीले भने मतदनामा सहभागी नहुने निर्णय गरेको थियो ।

यसैबीच, सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा (बादल) सहित सात जना मन्त्रीहरुको नियुक्ति बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले संसदको सदस्य नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने व्यवस्था रहेकोमा संसदको सदस्यता नलिएका मन्त्रीहरुको पुनर्नियुक्ति भएको भन्दै नियुक्ति बदर गरेको हो । नियुक्ति बदर गरिएका मन्त्रीहरुमा गृहमन्त्री थापाका साथै ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, युवामन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी रहेका छन् ।