इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका २ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत जय चौकमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्य हुनेमा झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले बताए । उनका अनुसार मृतकद्वयको शवलाई पोष्टमार्टमका लागि मोरङकै उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा पठाइएको छ । मृतकद्वय सासु र ज्वाइँ रहेको एसपी शर्माले बताए । दुर्घटनामा परी स्कोरपिओ चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकास उप्रेति, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोसन उप्रेति घाइते भएकोमा उनीहरुलाई उपचारार्थ विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको एसपी शर्माको भनाइ छ ।

scorp2

घाइतेमध्ये रोसन र विनिताको अवस्था गम्भीर रहेको एसपी शर्माले बताए । मोरङको कानेपोखरीमा रहेका बिरामी आफन्तलाई भेट्न त्यसतर्फ जाने क्रममा आफ्नो सवारीअगाडि एक्कासी आएको अर्को सवारीले आफ्नो सवारीलाई ठक्कर दिएको स्कर्पियो चालक विकासले बताए । यद्यपि, आफूले सवारी भने चिन्न नसकेको उनको भनाइ छ । स्कर्पियोलाई ठक्कर दिने सवारीको पहिचान हुन नसकेको बताउँदे एसपी शर्माले घटनास्थलबाट ना २ ख ९४७३ नम्बरको सवारी नम्बरप्लेट बरामद भएको बताए । दुर्घटना गराउने सवारीले नक्कली नम्बरप्लेट फालेर फरार भएको हुनसक्ने भन्दै उनले ठक्कर दिने सवारीको खोजी जारी रहेको बताए । हिजो मध्यराति १२ः०० बजे मे १ च १८५१ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो ।

scorp3 scorp4 numplate