इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै सदरमुकाम इनरुवा नगरपालिकाको २ नम्बर वडा सील गरेको छ ।
सो वडा क्षेत्रमा हिजो अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको र प्रत्येक घरमा संक्रमित फेला पर्न थालेकाले सो क्षेत्र सील गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले वडा सील गरिदिन भनी स्थानीय तहले पठाएको सिफारिस अनुसार वडा सील गरिदिएको हो । यसैगरी, डीसीसीएमसीकै बैठकले स्थानीय स्तरमा कोरोना संक्रमण बढ्न गई नियन्त्रण गर्नुपर्ने अवस्था आए चारकिल्ला तोकी मिति निर्धारण गरी सील गर्नसक्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णयसमेत गरेको छ । सील गर्नका लागि प्रहरीको सहयोग लिनुपर्नेछ ।