इटहरीः मोरङको रङ्गेली गनगरपालिका ३ स्थित तिलुवा चौकको नहरमा आज बिहान मृत फेला परेकी महिलाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मृतक महिलाका आफ्नै देवर १९ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान ८ः०० बजे इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले स्थानीय बेचन यादवकी २४ वर्षीया श्रीमति अनिता यादवको शव फेला परेको थियो ।
शव फेला परेलगत्तै मृतक महिलाको हत्या भएको आशंकासहित अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई आजै पक्राउ गरेको हो । हिजो मंगलबार साँझ भाउजूसँग झैझगडा भएकोमा सोही दिन राति ८ बजे अभियुक्त विनोदले धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजूको हत्या गरेका थिए । अभियुक्त विनोदलाई कर्तव्य ज्यान अभियोगमा जिल्ला अदालत मोरङको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।