इटहरीः मोरङको रङ्गेली नगरपालिका ३ स्थित तिलुवा चौकनजिकै रहेको नहरमा एक महिलाको शव फेला परेको छ ।
शव फेला पर्नेमा स्थानीय बेचन यादवकी श्रीमति २४ वर्षीया अनिता यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक मानबहादुर राईका अनुसार पानी नभएको सुख्खा नहरमा घाँटी रेटी हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको हो । घाँटी रेटेर हत्या गरिसकेपछि महिलाको शव नहरमा फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनामा प्रयोग भएका हातहतियार तथा संलग्न अभियुक्त अझै अज्ञात रहेका छन् ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले बिहान ८ बजे शव फेला पारेको हो । महिलाको हत्यामा संलग्न अभियुक्तहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।