मुम्बईः बलिउड अभिनेत्री कंगना रनावत कोरोना संक्रमणमुक्त भएकी छन् ।

मंगलबार उनले इन्स्टाग्रमको स्टोरीमार्फत यो खुसीको खबर सार्वजनिक गरेकी हुन् । आफूले भाइरसलाई कसरी पराजित गर्न सफल भएँ भन्ने कुरा आफ्ना प्रशंसकमाझ सेयर गर्न चाहेको तर कसैले यो नगर्न भनेको पनि उनले उल्लेख गरेकी छन् । कंगनाले लेखेकी छन्, “हेलो, आज मेरो कोभिडको रिपोर्ट नेगेटिभ आएको छ । मैले कसरी यो भाइरसलाई पराजित गर्न सकेँ भन्ने धेरै कुराहरु भन्न मन छ । तर, मलाई कोभिड फ्यान क्लबलाई अपमान नगर्न भनियो... हो, वास्तवमा तपाईँले भाइरसलाई अनादार गरे अपमानित हुने मानिस पनि छन्... जे होस्, तपाईँहरु सबैको शुभेच्छा र प्रेमका लागि धन्यवाद ।” 

कंगनाले यो स्टोरी मे ८ मा कोरोनालाई ‘सामान्य भाइरस हो’ भनेकै कारण डिलिट भएको आफ्नो पोस्टलाई इंगित गरेर इन्स्टाग्रामप्रति लेखेकी हुन् । उनले आफूलाई कोरोना संक्रमण भएको र चाँडै नै यो ‘मामुली भाइरस’लाई पराजित गर्ने भन्दै लामो पोस्ट लेखेकी थिइन् । त्यसपछि उनको पोस्ट डिलिट भएको थियो । पोस्ट डिलिट भएसँगै कंगनाले इन्टाग्राममा पनि एक हप्ताभन्दा धेरै टिक्न नसक्ने हो कि भन्ने दुविधा पोखेकी थिइन् । यसअघि, कंगनाको आपत्तिजनक ट्विटकै कारण ट्विटरले उनको अकाउन्ट सधैँका लागि बन्द गरिदिइसकेको छ ।
-बलिउड हंगामाबाट