इटहरीः नेपालमा कोरोना भाइरसको तेस्रो नयाँ भेरियन्ट फेला परेको छ ।
यो भेरियन्ट हालको भारतीय भेरियन्टभन्दा अझ बढी संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतको “डब्ल्यूएचओ आइडेन्टिफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक सिक्वेन्सिङ सीएसआईआर इन्स्टिच्युट अफ जिनोमिक्स एन्ट इन्टेगे्रटिभ बायलोजी” मा गरिएको ३५ ओटा नमुनाको “जिन सिक्वेन्सिङ” बाट ३४ ओटामा हाल फेला परिरहेको भारतीय भेरियन्ट र एउटामा थप नयाँ भेरियन्ट पुष्टि फेला परेको हो ।
९७ प्रतिशत नमुनामा बी १.६१७.२ र तीन प्रतिशतमा बी १.६१७.१ भाइरस पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । यससँगै नेपालमा कोरोना भाइरसका कुल तीन ओटा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक फेला परेको थप नयाँ भेरियन्ट सबै उमेर समूहमा तिव्र रुपमा संक्रमण हुने प्रकृतिको रहेको छ ।