इटहरीः सुनसरीको इटहरी उपमहानगपालिकाले सञ्चालन गरेको रंगशालाको आइसोलेसनबाट आज दुई जना संक्रमित निको भएर घर फर्किने भएका छन् ।

आइसोलेसन केन्द्रका इन्चार्ज शिवकुमार झाका अनुसार दुई जना पुरुष पूर्ण रुपमा कोरोना संक्रमणमूक्त भएर घर फर्किन लागेका हुन् । अहिलेसम्म आइसोलेसनमा २४ जना संक्रमित आएको उनले जानकारी दिएका छन् । आइसोलेसनमा अहिलेसम्म नौ जना महिला र १५ जना पूरुष भर्ना भएका थिए । जसमध्ये तीन जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको उनले बताए । रेफर हुनेमा दुई पुरुष र एक महिला छन् । उनीहरुमध्ये एक पुरुषलाई ग्रीन क्रस अस्पताल विराटनगर र अर्का पुरुषलाई झापाको आम्दा अस्पताल र महिलालाई बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा रेफर गरिएको हो । योसँगै अब आइसोलेसनमा सक्रिय संक्रमितको संख्या १९ पुगेको छ ।

जसमा पुरुष संक्रमितको संख्या ११ रहेको छ भने महिला संक्रमितको संख्या ८ रहेको छ । यहाँ रहेका संक्रमितको अवस्था सामान्य रहेको झाले जानकारी दिए । यदि कसैमा संक्रमणबाट गम्भीर समस्या आएमा कोभिड विशेष अस्पतालमा राखेर उपचार गरिने वा अन्य अस्पतालमा रेफर गरिने उनले जानकारी दिए । कोरोना संक्रमित थपिँदै जाँदा परीक्षणको दायरा भने साँघुरो पारिएको छ । दैनिक एक सय जनासम्मको पीसीआर परीक्षण गर्दै आएको उपमहागनले अहिले दैनिक २० जनाको मात्रै पीसीआर गर्न थालेको छ । उपमहानगरले नै परीक्षणको दायरा घटाउन निर्देशन दिएकाले दैनिक परीक्षणको संख्यामा कमी आएको झाले बताए । अहिले इटहरीमा संक्रमणको गम्भीर लक्षण देखिनेको मात्र पीसीआर परीक्षण गर्न थालिएको छ ।