इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सोमबार राति कुटपिट भएको छ ।

आकस्मिक कक्षमा बिरामीको उपचारमा संलग्न डा.सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको अस्पतालका कर्मचारी सुनिल देवले जानकारी दिए । उनका अनुसार बुढीगंगा गाउँपालिका २ घर भएकी ७३ वर्षीया ज्येष्ठ नागरिक महिलालाई उपचारार्थ आकस्मिक कक्षमा लगिएकोमा उनको उपचारमा ढिलाइ गरेको भन्दै आक्रोशित समूहले चिकित्सक तथा स्वास्थ्यकर्मीका साथै सुरक्षा गार्डमाथि आक्रमण गरेको हो । आक्रमणमा परी डा.रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेत दुवै घाइते भई सोही अस्पतालमा उपचाररत रहेका छन् । आक्रमणकारीको लात र मुक्का प्रहारबाट दुवै स्वास्थ्यकर्मीको टाउको, अनुहार तथा शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ ।

सोमबार साँझ ७ः४५ बजे प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकुमार बस्नेतको उपचारमा संलग्न रहेका बेला स्वास्थ्यकर्मीहरु आक्रमणमा परेका हुन् । दुर्घटनामा घाइते भएका बस्नेतको उपचारका क्रममा सोमबार राति ९ः३० बजे ज्यान गएको छ भने सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सम्राज्य चौधरीको सोही अस्पतालमा उपचार जारी रहेको छ ।

बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी अन्य फरार अभियुक्तहरुको प्रहरीले खोजी जारी राखेको छ ।