नयाँ दिल्लीः भारत सरकारले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ ।

संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले यो विधि हटाएको हो । गत साता बसेको कोभिड–१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी सबै जनाले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिए ।

यसअघि नै वैज्ञानिकहरूले प्लाज्मा थेरापीले संक्रमितलाई कुनै फाइदा नहुने भन्दै त्यो उपचार विधि ठिक नभएको बताउँदै आएका थिए । नेपालमा पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ । -एजेन्सी