इटहरीः सप्तरीको सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

स्वासप्रस्वासमा समस्या आएपछि वैशाख २४ गते स्थानीय स्वास्थ्य संस्थामा उपचारार्थ भर्ना गरिएकी उपमेयर चौधरीमा कोरोना संक्रमण पुष्टि भई त्यहाँ उपचार सम्भव नभएपछि मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएकी चौधरीको स्वास्थ्य अवस्था जटिल बनेपछि आईसीयूमा राखी उपचार सुरु गरिएकोमा अवस्था थप जटिल बनेपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो ।

dpt mayor on ventilator.

सात महिनाकी गर्भवतिसमेत रहेकी उपमेयर चौधरीको स्वास्थ्यमा सुधार नभएपछि तीन दिनअघि चिकित्सकले उनको पेटबाट बच्चा निकालेका थिए । बच्चा निकालेर उपचार गर्दासमेत स्वास्थ्यमा कुनै सुधार नभएपछि आज बिहान ४ः१२ बजे उनको निधन भएको अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले जानकारी दिए । मृतक उपमेयर चौधरीका पति र एक सात वर्षीय छोरा रहेका छन् ।