इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत गर्भवति अवस्थाकी कोरोना संक्रमित नर्सको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ घर भई कोसी अस्पतालमै कार्यरत ३५ वर्षीया भट्टराई थरकी स्टाफ नर्स रहेको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । वैशाख २३ गते कोरोना संक्रमित भई उपचारार्थ सोही दिन कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएकी भट्टराईको अक्सिजन सपोर्टमा उपचार भइरहेकोमा स्वास्थ्य अवस्था जटिल भई चिकित्सकले उपचारका लागि एन्टिबायोटिक औषधि प्रयोग गर्दा भट्टराईको सात महिनाको गर्भसमेत खेर गएको सूचना अधिकारी राजवंशीले बताए ।

गर्भ खेर गएपनि कोरोना संक्रमणबाट बचाउने उद्देश्यले प्लाज्मा थेरापी र एन्टिबायोटिक औषधि प्रयोग गरेपनि शनिबार राति ९ः३० बजे भट्टराईको ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालमा पहिलो पटक गर्भवति कोरोना संक्रमितको ज्यान गएको अस्पतालको तथ्याङ्क छ ।