चितवनः कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै भरतपुर अस्पतालले ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ ।
बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमितका लागि शैय्या, अक्सिजन, बिरामीले होमआइसोलेसनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् । त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिने उनले बताए । डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ । बिहान७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्ट्मा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ ।
अस्पतालमा आएका बिरामीले समेत आकस्मिक कक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्नेछन् । सङ्क्रमितलाई शैय्या बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले बताए । अस्पताल आउँदा हुनसक्ने कोरोना सङ्क्रमणसमेत कम गर्न सकिने तिवारीले विश्वास व्यक्त गरे । जिल्लामा अहिले तीन हजार सात सय ४१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये दुई सय १४ अस्पतालको आइसोलेसनमा, तीन हजार पाँच सय २४ होम आइसोलेसनमा र तीन जना सार्वजनिक आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण एक सय ६३ को मृत्यु भइसकेको छ । -रासस