ताप्लेजुङः ताप्लेजुङका पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सम्पन भएको छ ।

वैशाख पहिलो सातादेखि जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सुरु भई पाँच स्थानीय तहमा सम्पन्न भएर कोभिड–१९ को सङ्क्रमणका कारणले गत हप्ता स्थगित भएको छ । पाँच स्थानीय तहमा जम्मा २४ हजार दुई सय चार जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको छ । फक्ताङलुङ गाउँपालिकामा चार हजार छ सय ८६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन ताप्लेजुङका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालयका सीमा प्रशासन अधिकृत सूर्यप्रसाद दाहालले बताए । आठराइत्रिवेणी गाउँपालिकामा पाँच हजार दुई सय ६५ जानको विवरण सङ्कलन भएको छ ।

त्यस्तै मैवाखोला गाउँपालिकामा चार हजार दुई सय ८२ र फुङ्लिङ नगरपालिकामा छ हजार आठ सय ९५ जनाको विवरण सङ्कलन भएको दाहालले बताए । मेरिङदेन गाउँपालिकामा छवटा वडा भएकामा १, २ र ३ वडा गरी जम्मा तीन हजार ७७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको छ । वडा नं ४, ५ र ६ मा विवरण सङ्कलन हुन बाँकी रहेको कम्युटर अपरेटर वसन्त निरौलाले बताए । दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विवरण सङ्कलन स्थगन गर्नुपरेको हो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आएपछि अनुकूल समयमा बाँकी गाउँपालिकामा विवरण सङ्कलन हुने निरौलाले बताए । पाथीभरा याङवरक, सिरिजङ्घा, मिक्वाखो र सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न बाँकी रहेको छ । -रासस