इटहरीः नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा हिजो रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कोरोना महामारीजस्तो विषम परिस्थितिमा रगतको अभावलाइ कम गर्न सहयोग पुगोस् र रगतको अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उपशखाका सभापति सोम प्रधानले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड र सामाजिक दूरी कायम गरी आयोजना गरिएको कार्यक्रममा करिब २० पिन्ट रगत संकलन गरिएको थियो ।

चाँगुनारायण नगरपालिका को वडा नम्बर २ का प्रत्येक टोल मा रक्तदान कार्यक्रम सञ्चालन गरिने र संकलित रगत ब्लड बैंक भक्तपुरलाई उपलब्ध गराउने उपशाखाका सभापति एवम् रक्तदान कार्यक्रमका संयोजक प्रधानको भनाइ थियो । कार्यक्रमस्थलमा प्रहरी प्रभाग दुवाकोटका प्रमुखको नेतृत्वमा परिचालित प्रहरी टोलीले सुरक्षा व्यवस्था गरेको थियो ।