इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ स्थित राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्रीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण वि.क. रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कार्यालका अनुसार गएराति १० बजे विशेष सूचनाका आधारमा कार्यालयका प्रहरी निरीक्षक सहितको टोली खटी गई डम्बर, दोर्ण र रबिन्द्रलाई तीन थान भरुवा बन्दुक, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरुसहित नियन्त्रणमा लिएको छ भने बि.क.लाई भरुवा बन्दुकको नाल पाँच थान, भरुवा बन्दुकको बट एक थानलगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरुसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चारै जना अभियुक्तहरुउपर जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।