ओखलढुङ्गाः देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजनको अभाव भइरहँदा ओखलढुङ्गामा यसको उत्पादन सुरु गरिएको हो ।

ओखलढुङ्गा सामुदायिक अस्पतालले दुई वर्षदेखि मिनिप्लान्ट सञ्चालन गर्दै आएको छ । यसबाट दैनिक आठ सिलिण्डरसम्म भर्न सकिने भएकाले जिल्लामा सहज भएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए । अस्पतालमा हाल ४० वटा सिलिन्डर रहेका छन् । ती सिलिन्डर भरेर सञ्चित राख्ने तथा जिल्ला बाहिरबाट समेत मगाएर राख्ने तयारी थालिएको निर्देशक आचार्यको भनाइ छ । उत्पादनलले ओखलढुङ्गा जिल्लासहित छिमेकी जिल्लाहरु सोलुखुम्बु र खोटाङलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ । पहाडी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने यो प्रदेशकै पहिलो अस्पताल हो ।

जिल्लामा उद्योग वाणिज्य सङ्घले २५ थान खरिद गरेर भर्न पठाएको छ । सङ्घको कार्यालयमा अक्सिजनसहितको आइसोलेसन निर्माण थालिएको छ । सङ्घको कार्यालयमा १० श्यया अक्सिजनसहितका हुनेछन् । सङ्कटको अवस्थामा सङ्घको भवनलाई आइसोलेसन वार्डका रुपमा विकास गर्न लागिएको अध्यक्ष ज्ञानेन्द मास्केले बताए । जिल्ला अस्पताल रुम्जाटारमा रहेका १९ थान सिलिन्डरमा समेत अक्सिजन भरेर तयारी राख्ने जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । जिल्लामै उत्पादन हुने भएकाले अत्यावश्यक अवस्थामा अक्सिजन अभाव हुन नदिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । ओखलढुङ्गा सामुदायिक अस्पताल तथा सांसदको पहलमा २०७४ सालदेखि जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा छ । सङ्घीय सांसद यज्ञराज सुनुवारले अक्सिजन प्लान्ट उद्घाटन गरेर कार्यकाल सुरु गरेका थिए । उनले अघिल्लो कार्यकालमा प्लान्ट स्थापनाका लागि बजेट विनियोजन समेत गराएका थिए । -रासस