इटहरीः सुनसरीमा गत वैशाख १७ गतेदेखि लागु भएको निषेधाज्ञा हिजो राति नै सकिएपछि जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र (डीसीसीएमसी) ले आजदेखि पुनः जेठ १५ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ ।

अघिल्लो पटक जारी गरिएको निषेधाज्ञामा मानवीय आवागमन कम नभएको र यसले संक्रमण वृद्धिमा प्रश्रय दिएको भन्दै डीसीसीएमसीले आजदेख थप कडाइका साथ निषधाज्ञा लागु गरेको जनाएको छ । आज राति १२ बजेदेखि लागु भएको निषेधाज्ञा आगामि जेठ १५ गते राति १२ बजेसम्म कायम रहनेछ । योसँगै प्रहरी पनि निषेधाज्ञाको पूर्ण कार्यान्वयनमा लागेको छ । प्रहरीले अहिले सुनसरीमा विभिन्न ठाउँबाट प्रदेश गर्ने अन्तर्जिल्ला नाका तथा अन्तर्देशीय नाकामा पनि थप कडाइ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकाको सिमानामा रहेको यी दुई जिल्ला बीचको पूर्वी नाकामा प्रहरीले कडाइ गर्न थालेको छ । त्यहाँ सशस्त्र प्रहरी बल र जनपद प्रहरीले अनावश्यक रुपमा आवतजावत गर्ने सवारी साधनलाई रोक्न थालेको छ । यस्तै सरकारी पासबिना सामान तथा मानिस ओसारपसार गर्ने सवारी साधनलाई पनि होल्ड गर्न थालेको प्रहरीले जनाएको छ ।

1 (2) 2

कतिपयले नक्कली पास बनाउने, बिरामी भएको भनेर झुक्याउने र नक्कली परिचयपत्र पनि बोकेर आवतजावत गर्ने गरेको पाइएको सुरक्षामा खटीएका प्रहरीले बताएका छन् । त्यस्ता सवारी साधन र सवारी धनिलाई पनि कारबाही गरिएको उनीहरुको भनाइ छ । यस्तै निर्माण सामग्री बोक्ने सवारी साधनलाई पनि प्रहरीले सञ्चालनमा रोक लगाएको छ । सरकारी प्रोजेक्ट र अन्य गैरसरकारी ठूला प्रोजेक्ट बाहेकका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनलाई पनि प्रवेशमा रोक लगाइएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म सम्झाइ बुझाइ छोडेको तर अवस्था नियन्त्रणमा नआए स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीको भनाइ छ ।