चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिबार सबेरै जनाएका छन् । छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो । उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो । चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको ’अद्वितीय उपलब्धि’का लागि बधाई दिएका छन् ।
उल्लेख्य उपलब्धि
निकै कठिन प्रकृतिको ठानिएको उक्त कामका कारण मङ्गल सतह छुने सो सफलतालाई एउटा उल्लेख्य उपलब्धि मानिएको छ । बेइजिङ समय अनुसार उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेट जाँदा अवतरण गरेको थियो । अहिलेसम्म मङ्गल ग्रहमा अवतरण गर्ने सफलता अमेरिकाले मात्रै हात पारेको थियो । यस अवतरणसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ । आगोका देवता अर्थ लाग्ने जुरोङलाई तिआन्वेन–१ अभियानमार्फत फेब्रुअरीमा मङ्गल ग्रहमाथि पु¥याइएको थियो । त्यसयताको समय सो यानले अवतरण गर्ने स्थानको अवस्था अध्ययन गर्न खर्चिएको थियो । त्यस क्रममा उक्त अभियानले उच्च गुणस्तरका तस्बिरहरूबाट अवतरण गर्ने सबैभन्दा सुरक्षित ठाउँ पहिचान गरेको थियो । उसको उद्देश्य सक्दो बढी खाल्डा र ठूला ढुङ्गा छलेर अवतरण गर्न सकिने ठाउँ पहिचान गर्नु थियो ।
स्वचालित व्यवस्थापन
मङ्गल ग्रहसँग पृथ्वीको दूरी ३२ करोड किलोमिटर छ जसको अर्थ त्यहाँबाट रेडियो सन्देशहरू १८ मिनेट लागेर पृथ्वीसम्म आइपुग्छन् । जसका कारण उक्त यान अवतरणका सबै तहहरू स्वचालित रूपमा व्यवस्थापन गरिएका थिए । उसको वायुमण्डलमा प्रवेश, त्यसबाट झर्ने क्रम र अवतरणका रणनीतिहरूमा समेत त्यस्तै प्रक्रिया अपनाइएको थियो । छनौट गरिएको अवस्थाका लागि एरोसेलमा ढाकिएको यान तिआन्वेन अर्विटरबाट झरेको थियो । यो एउटा जटिल चुनौती हो तर चीनले यससँगै अन्तरिक्ष जगतमा आफ्नो ठूलो क्षमता प्रस्तुत गरेको छ । सफल अवतरणपछि वैज्ञानिकहरूले अब यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यस वरपरको भूगर्भ अध्ययन गर्ने अपेक्षा गरेका छन् । सोल भनिने मङ्गल ग्रहको दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ । उक्त यानको तौल २४० किलो छ त्यसले सौर्य ऊर्जाबाट काम गर्छ । -बीबीसीबाट