इटहरीः जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञा १० दिन थप गरेको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको आज अन्तिम दिन रहेको तर जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमणको विस्तारमा कुनै कमी नआएकाले संक्रमणको विस्तार रोक्न जेठ ११ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार जारी निषेधाज्ञा जेठ १ गते मध्यराति १२ः०० बजेबाट सुरु भई जेठ ११ गते मध्यराति १२ः०० बजेसम्म जारी रहनेछ । निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सवारी साधनको सञ्चालन बर्जित रहनेछ ।
सरकारीस्तरबाट भइरहेका निर्माण कार्यबाहेक अन्य सबै निर्माण कार्य बन्द हुनेछन् । यद्यपि, निर्माण सामग्री भने बिहान १० बजेसम्म ढुवानी गर्न सकिनेछ । औद्योगिक क्षेत्रमा कार्यरत मजदुरलाई आवासीय सुविधा दिएर मात्र काममा लगाउन सकिनेछ । सडकमा मजदुरलाई पनि आवागमनमा छुट नदिइने भएको छ । यसअघि कार्यालयसम्म जाने छुट दिइएकोमा त्यसबाट संक्रमण बढ्ने निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयले आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । बैँक तथा वित्तीय संस्थाका सबै कारोबार अनलाइनमार्फत् मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ भने अत्यावश्यक खाद्य पदार्थ बिहान १० बजेसम्म बिक्री वितरण गर्न पाइने भएको छ ।