इटहरीः आज मुस्लिम धर्मावलम्बीहरु इद उल फित्र पर्व मनाउँदै छन् । रमजान पर्व सम्पन्न भएको एक महिनापछि मनाइने इद उल फित्रका अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
चन्द्रमाको गतिका आधारमा शुक्लपक्षको चन्द्रमा पहिलो पटक देखिएको भोलिपल्ट इद मनाउने परम्परा रहेको छ । स्थानीय धर्माधिकारी मौलानाहरुद्वारा चन्द्रमा देखिएको दिन यकिन गरी पर्वको मिति तय गरिने हुँदा स्थान विषेशामा यो पर्व फरक फरक मितिमा मनाइने गरेको छ । यो पर्वमा मुस्लिम धर्मावलम्बीहरु नयाँ लुगा लगाउने तथा सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर, माछा, मासु, मिठाइजस्ता मिठा खानेकुरा खाने गर्दछन् । मौलवीद्वारा पवित्र इस्लाम धार्मिक ग्रन्थ कुरान वाचन गरिने र सोबाट सद्विचार तथा प्रेरणा ग्रहण गर्ने अवसरका रुपमा पनि इस्लाम धर्मावलम्बीहरु यस पर्वलाई लिने गर्दछन् ।
नजिकको मस्जिदमा भेला भई सामूहिक रुपमा नमाज पढ्ने परम्परा रहेपनि सो कार्य भने कोरोना महामारीका कारण हाललाई स्थगित गरिएको छ । यसैबीच, प्रदेश १ सरकारले यसै पर्वलाई लक्षित गरी आज सार्वजनिक बिदासमेत दिएको छ ।