इटहरीः प्रदेश १ का विभिन्न चार ओटा अस्पतालहरुमा कोरोना संक्रमितका लागि दुई हजार शैय्या छुट्याइने भएको छ ।
वैशाख २९ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन समिति (पीसीसीएमसी) को बैठकले प्रदेशभरका चार अस्पतालमा पाँच सय शैयाका दरले दुई हजार शैया कोरोना संक्रमितको उपचारका लागि छुट्याउने निर्णय गरेको हो । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, बुढीगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल, झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सय शैयाका दरले कोरोना उपचारका लागि छुट्याइने भएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसैगरी, विराटनगरकै न्युरो कार्डियो तथा मल्टिस्पेसियालिटि अस्पताललाई एक सय शैयाको कोभिड उपचार सञ्चालनको अनुमति तथा प्राविधिक सहयोगका लागि संघीय सरकारको कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) समक्ष सिफारिस गर्ने निर्णयसमेत पीसीसीएमसीले गरेको छ । पीसीसीएमसीको बैठकले गरेको निर्णयमा लेखिएको छ, ‘वर्तमान जटिल परिस्थितिमा जनजीवनलाई न्यूनतम मात्र असर पर्ने गरी सीमानाका र आन्तरिक आवगमन एवं व्यापार व्यवसायलाई नियन्त्रित रुपमा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण होल्डिङ सेन्टर, आइसोलेसन सेन्टरलगायतका कार्यहरुमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल सरकारको नीति एवं निर्देशनसँग सामञ्जस्यता कायम हुनेगरी स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा तत्काल गर्नुपर्ने कार्य र त्यसका लागि स्रोत, साधन, जनशक्ति परिचालनको आवश्यकता र औचित्यसहितको नयाँ कार्ययोजना तर्जुमा गरी तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सोको अध्यावधिक जानकारी मुख्यमन्त्री समक्ष पेस गर्ने ।’