इटहरीः मोरङको ग्रामथान गाउँपालिका ४ मा आज बिहान १२ः३० बजे बालुवा लोड गरिएको ट्र्याक्टरको अगाडिको भागले च्यापिएर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा को १ त ४९०२ नम्बरको ट्र्याकटरका चालक मोरङकै कटहरी गाउँपालिका घर भएका ३५ वर्षीय दिलकुमार मुडियारी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार लोहोन्द्रा खोलाबाट बालुवा लोड गरेर फर्कने क्रममा दुर्घटना भएपछि चालक मुडियारी गम्भीर घाइते भएका थिए । घाइते चालक मुडियारीलाई उपचार्थ विराटनगरस्थित कोसी अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई तत्कालै मृत घोषित गरेको डीएसपी तिम्सिनाले बताए ।
अत्याधिक लोड र कच्ची सडकको जिर्ण अवस्थाका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको भन्दै उनले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिए । यसैबीच, ट्र्याक्टर चालक मुडियारीसँग सवारीचालक अनुमतिपत्रसमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।