झापाः नेपाल पत्रकार महासङ्घ झापाले जिल्लाका सङ्क्रमित पत्रकारहरुको घरघरमा पुगेर औषधि वितरण र योग सिकाउन सुरु गरेको छ ।
झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेसनमा रहेको शाखाका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । पौष्टिक आहारका रूपमा ओखर, काजुलगायतका फलफूल र औषधिका रूपमा अश्वगन्धा, गुडुची, जेठी मधु, त्रिकटलगायतका १० प्रकारका आयुर्वेदिक जडिबुटी पत्रकारको होम आइसोलेसनमै पु¥याइएको हो । शाखाका अध्यक्ष एकराज गिरीले महासङ्घको टोली पोषिलो आहार र औषधिसहित घरघरै पुग्दा सङ्क्रमित पत्रकारहरूको स्वास्थ्य अवस्था बुझ्न र आवश्यकताबमोजिम चिकित्सकीय सुविधाका लागि पहल गर्न सजिलो भएको बताए ।
कोभिडसँग जुधिरहेका बेला पत्रकार महासङ्घको टोलीले होम आइसोलेसनमै आएर पौष्टिक आहार, जडिबुटी र विज्ञ परामर्श उपलब्ध गराउँदा आत्मबल उच्च भएको कान्तिपुर दैनिकका झापा समाचारदाता पर्वत पोर्तेलले बताए । पत्रकार महासङ्घको झापा शाखाले कोभिडका हजारौँ बिरामीको उपचार गरिसकेका चितवन अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. गोविन्द कँडेलसँग कोरोना सङ्क्रमणबाट बच्ने उपाय र सङ्क्रमितले स्वास्थ्य हेरचाहमा ध्यान दिनुपर्ने विषयमा भर्चुअल परामर्श सेवा प्रदान गरिसकेको छ । -रासस